काठमाडौं - सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दलगत अनिर्णयको बन्दी बनाएर प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेको प्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

सत्तापक्षकै कारणले हप्तौदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिएको छ। ‘प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको बिषय दुःखद छ’ – प्रवक्ता बिश्वप्रकाश शर्माले आइतबार एक बिज्ञप्ति जारी गर्दै भनेका छन्‘ नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ।’

बिज्ञप्ति

दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई बनाइएकोमा आपत्ति !

प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दु:खद छ । नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।

स्वयं सत्तापक्षका कारण महीना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउंदछ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा 

प्रवक्ता