काठमाडौं - नेपाली बजारमा सुनको भाउ बढ्दो क्रममा छ। बुधबार सुन तोलामा १५ सयले बढेर अहिलेसम्मकै महंगो भएको छ।आज सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

साउन ३ गतेदेखि उकालो लागेको सुनको भाउ साउन १६ गतेसम्म घट्ने र बढ्ने क्रम जारी रह्यो।साउन १७ गतेदेखि सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ।१७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको टछ हजार ८ सय रुपैयाँमा कारोबार भयो।

यस्तै, साउन १९ गते फेरी तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भयो।एकै दिन १५ सय रुपैयाँले बढेर साउन २० गते सुन तोलाको ६७ हजार ८ सय कायम भयो।

यस्तै, मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भयो। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा १५ रुपैयाँले बढेर ८१० रुपैयाँ कायम भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका-चीन व्यापार युद्धका कारण सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य आकासिएको हो।सुन भाउ निरन्तर बढ्न थालेपछि नेपाली बजारमा सुनको कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको उनले बताए।