काठमाडौं - स्याङ्जामा पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

मंगलबार बिहान कालिगण्डकी गाउँपालिका ४ स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो। ती मध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने ६५ वर्षीय गाविसका पूर्वअध्यक्ष ईमानसिंह राणा, ६० वर्षीय जिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापा छन्। जिमानसिंह र टीकाबहादुर उद्दारको क्रममा मृत अवस्थामा फेला परेका हुन्। प्रेमचन्द्र पाण्डे भने अझै बेपत्ता छन्। कार्यालयका अनुसार उनको खोजी जारी छ।

त्यस्तै घाइते दुई जनाको उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ। घाइते हुनेमा वडा नम्बर ४ का ६८ वर्षीय वडा सदस्य हुमानाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर राणा छन्।

त्यस्तै सोही ठाउँको खहरे खोलामा बाढी आएपछि चार घर परिवारका २३ जनालाई सुरक्षित स्थानमा लगिएको छ।