काठमाडौं - निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्छ भन्नेमा हामीले विश्वास लिएका छौँ भने ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका उम्मेदवार मङ्सिर २ गतेदेखि निर्वाचनको प्रचारप्रसारमा रहेका छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन आयोगले यसअघि नै सरकार र राजनीतिक दलका प्रतिनिधिलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइसकेको छ । उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता कात्तिक ८ गतेबाटै लागू भएको छ ।

आयोगले २०७४ को अनुभवको आधारमा यस पटक जिल्ला न्यायाधीशको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाबाट निर्वाचनमा भाग लिने राजनीतिक दल प्रमुख एवं प्रतिनिधि संलग्न रहने गरी जिल्लास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

जिल्लामा उक्त समिति क्रियाशील रहेको हुनाले विगतको जस्तो अहिले आयोगको केन्द्रीय कार्यालयमा हालसम्म कुनै उजुरी नभएको आयुक्त पौड्यालले जानकारी दिए । निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता उल्लङ्घनका घटनाको अनुगमन गर्न केन्द्रमा पनि आचारसंहिता अनुगमन समिति रहेको छ ।