काठमाडौं - ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

नेपालले टि-२० सिरिजमा नेदरल्याण्डलाई पहिलो पटक हराउँदै इतिहास समेत रचेको छ ।नेपाली टोलीले नेदरल्याण्डलाई ४ विकेटले हराएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । सन्दीप र करणको बलिङका कारण नेदरल्याण्ड १३३ रनमा समेटिएको थियो ।

नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।

नेदरल्याण्ड लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।

नेपाली टोलीले १३४ रनको लक्ष्य १ बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।जितका लागि १३४ रनको लक्ष्य पाएको नेपालले सुरुमा भने खराब ब्याटिङ गरेको थियो । नेपालका ओपनर पवन सर्राफ १६ बलमा ९ रन तथा आरिफ सेखले ६ बलमा २ रन जोड्दै आउट भएका थिए ।

नेपालका करण केसीले ब्याटिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन जोडेका थिए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो । क्रिजमा करण केसी र सोमपाल कामी थिए । जसमा करणले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बल डट खेले । तेस्रो बलमा चौका प्रहार गरेका करणले चौथो बलमा पनि चौका प्रहार गरे ।

करणले निरन्तर बाउन्ड्री प्रहार गरेपछि हारिसकेको खेल समेत नेपालले जित्न सफल भएको हो ।

त्यस्तै  नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा १ चौका र १ छक्कासहित ३३ रन जोडेर आउट भएका थिए । त्यस्तै विनोद भण्डारीले २२ बलमा २ छक्कासहित २६ रन बनाएर आउट भए ।नेपालले आइतबार हङकङलाई हराएको थियो । नेपालका लागि यो लगातार दोस्रो जित हो ।