काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतलाई विश्वभर प्रदूषण बढाउन जिम्मेवार ठहराएका छन् । उनले अमेरिका यस मामिलामा राम्रो रहेको दाबी गरेका हुन् ।

नर्थ क्यारोलाइनामा बिहीबार एक र्यालीको दौरान ट्रम्पले भने, ‘मेरो कार्यकालमा अमेरिकाले आफ्नो पर्यावरणको रक्षा गर्दै उर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ । पर्यावरण प्रदूषण र ओजोनमा भइरहेको क्षतिबारे अमेरिकाको तथ्यांक सबैभन्दा राम्रो छ ।’ उनले चीन, रुस र भारत जस्ता देशहरु वायु प्रदूषणका लागि जिम्मेवार रहेको जिकिर गरे ।

यसअघि, ट्रम्पले सन् २०१७ मा भएको पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका थिए । उनले यस सम्झौताबाट अमेरिकालाई खर्बौं डलरको नोक्सानी भइरहेको, रोजगारी गुमिरहेको र तेल, ग्यास र अन्य उद्योग प्रभावित भइरहेको बताएका थिए । उनले चीन र भारतजस्ता देशहरुले यस सम्झौताबाट फाइदा उठाइरहेको र यो सम्झौता अमेरिकाका लागि सही नभएको उनको दाबी थियो ।