कुटनीति वा युद्धबाट मात्रै भारतीय सेना हटाउन सकिन्छः डा. भट्टराई
काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कुशल कुटनीति वा युद्धबाट मात्रै कालापानीबाट भारतीय सेना हटाउन सकिने बताएका छन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हटाउने भनेपछि डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सोमबार ट्विट गर्दै कुटनीतिक कौशलता वा युद्धबाट मात्रै भारतीय सेना कालापानीबाट हटाउन सकिने बताएका हुन् ।
भट्टराईले सार्वजनिक रुपमै कालापानीबाट भारतीय सेना हटाउने प्रधानमन्त्री ओलीको घोषणा साहसिक भएको समेत बताएका छन् । तर राज्य सञ्चालनको केन्द्रमा रहेका व्यक्तिले यस्तो घोषणा गर्दा कुटनीति र युद्ध दुबै निष्प्रभावी हुने समेत टिप्पणी गरेका छन् ।
‘सार्वजनिक रुपमै कालापानीबाट भारतीय सेना हटाउने साहसिक घोषणा गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ ! यो कार्य कुशल कुटनीति वा युद्धबाट मात्रै संभव छ’, भट्टराईले आफ्नो ट्विटमा भनेका छन्, ‘तर शक्तिमा रहेका व्यक्तिले गरेको यस्तो घोषणाले दुबै रणनीति निष्प्रभावी हुन्छन् ।’
फेसबुक पेज Like गर्नुहोस