काठमाडौं - चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अर्को नेपालीमा पनि भेटिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको समाचार प्रकाशित भएको हो । 

उक्त अस्पतालमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनको बाटो हुँदै नेपाल फर्किएका थिए । २८ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको हो । पुरुषसँगै आएका महिलामा भने संक्रमण भेटिएको छैन ।

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।