काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीभित्रकाे विवाद समाधानका लागि भन्दै आन्तरिक छलफलमा जुटेका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शीर्ष नेताहरूको छलफल भएपछि आज आ-आफ्नाे समूहका नेताहरूसँग छलफल गर्न कांग्रेस नेताहरू लागेका हुन् ।

कांग्रेसकाे तीनवटै समूहकाे अहिले आन्तिरक छलफल भइरहेको छ । सभापति देउवा निकटका नेताहरूकाे बुढानीलकण्ठमा छलफल भइरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहको महामन्त्री शशांक निवास महाराजगन्जमा छलफल भइरहेको छ । त्यस्तै. पार्टीभित्र तेस्रो धारकाे रूपमा रहेका कृष्णप्रसाद सिटौलाले पनि आन्तरिक छलफल गरिरहेका छन् ।

छलफलमा तीनवटै समूहका नेताहरूले नेविसंघ, तरूण दल, विभाग गठनलगायत १४ औं महाधिवेशनको कार्यतालिकाकाे विषयमा सबैलाई सहमति हुने बिन्दू खाेजिने बताइएको छ ।

विहीबार सबैले आफ्नाे समूहका नेताहरूसँग छलफल गरेपछि शुक्रबार बिहान ९ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा नेताहरूको छलफल हुँदैछ ।