काठमाडौं - सरकारले विकास बजेट करको दर बढाएको छ। गत सोमबार बसेको मन्त्रि परिषद बैठकले डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास बजेट कर बढाएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो। यसैगरी आगामी फागुन २०/२१ गते बंगलादेशमा हुने नेपाल/बंगलादेश वाणिज्य सचिवस्तरिय संयन्त्रको पाँचौ बैठकका लागि उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै नेपाल कानून आयोगको सदस्यमा शोभा बुढाथोकी, उद्धव चन्द्र घिमिरे र नारायण नेपाललाई नियुक्त गरेको छ। राष्ट्रिय न्याय प्रतिष्ठान परिषद्को सदस्यमा रमा श्रेष्ठ, हरिन्द्र राई र भोजमान लाम्गदेलाई नियुक्त गरेको छ। मन्त्री खतिवडाका अनुसार नेपाल भारत सीमा निरीक्षण समितिको म्याद २०७७ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।

यसैगरी सार्वजनिक, सरकारी र गुठि जग्गा संरक्षण सम्बन्धि जाँचबुँझ आयोगको सदस्यमा महेन्द्रकुमार थापा क्षेत्रीलाई नियुक्त गर्दै जगत देउजाको राजीनामा स्वीकृत गरेको छ।

यसैगरी समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत दिपायलका पूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरिएको छ।

सदस्यहरुमा टीका बुढाथोकी, ममता देवी शर्मा र सरस्वती देवी भट्टराईलाई नियुक्त गरिएको छ। सदस्य सचिव नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितिय श्रेणीको अधिकृत रहेको व्यवस्था गरिएको छ।