काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी
काठमाडौं - नेपाली सेनाले नागरिकको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता दिने भएको छ।
शुक्रबार एक सूचना जारी गर्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुने जानकारी दिएको छ। यसैगरी, आज बेलुका ७ बजेदेखि भोलि (भदौ २८ गते) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
अत्यावश्यक कामका लागि भने आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न सकिनेछ।निषेधाज्ञा र कर्फ्यूका बेला पनि अत्यावश्यक सेवाका सवारी साधनहरू जस्तैः एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, र सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, र औषधी ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ।
विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन्। यस्तै, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले उडान टिकट देखाएर विमानस्थलसम्म जान सक्नेछन्। आवश्यक सहयोगका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस