अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भयो : प्रधानमन्त्री ओली
काठमाडौें- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर सम्पन्न गरेको स्पेन भ्रमणबारे आज प्रतिनिधि सभामा जानकारी गराएका छन् ।
असार १४ गते स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किएका थिए । परम्परागत संसदीय अभ्यास अनुसार विदेश भ्रमण अघि र पछि संसदलाई जानकारी गराउने काम ओलीले पनि पुरा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्वले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उजागर हुनुका साथै वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघसँगको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
‘सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसङ्घसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको छ’, उनले भने ।
उनले देशको विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न यस प्रकारका सम्मेलनको महत्वपूर्ण भूमिका रहेको बताए।
फेसबुक पेज Like गर्नुहोस