काठमाडौं - आन्दोलनको २५ दिनसम्म सम्यमता अपनाएका शिक्षहरुको हातमा अज भने ढुंगा देखियो । २६औं दिनमा आइपुग्दा शिक्षक आन्दोलन आज तनावग्रस्त बनेको हो ।

आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ । आन्दोलनका क्रममा केही शिक्षकहरु घाइते भएका छन् ।

सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्‍यो ।

लगत्तै आन्दोलनकारी शिक्षकहरू सडक पेटीका ढुंगा टिप्दै प्रहरीमाथि प्रहार गर्न थालेको प्रहरीहरु बताउँछन् । प्रहरीले नियन्त्रण गर्न पानीको फोहरा हानेको छ ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् ।