काठमाडौं - सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारिकता दिएको थियो । सो निर्णयविरुद्ध महन्थ ठाकुर समूहले साउन १५ गते आधिकारिता  निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएको थियो । 

बुधबार प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै यसअघि ठाकुरले दायर गरेको त्यही विषयसँग सम्बन्धित रिट निवेदन सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो । ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएको विषयले कानुनी रुपमा समेत वैधता पाएको छ ।

जसपाको आधिकारिकताको सम्बन्धमा आयोगले ‘हेड काउन्ट’ गर्दा उपेन्द्र यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा जम्मा १६ जना मात्रै उभिएका थिए ।