काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ । 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधेपछि खनाल -नेपाल पक्ष अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि आजै बैठक बस्ने तयारी भ्एको स्रोतले बताएको छ । यद्यपी बैठक कुन ठाउँमा कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेको छैन । 

गत शनिबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका छन्। पार्टी केन्द्रीय कार्यालयका कर्मचारीले चारै नेताका घरमा खामबन्दी स्पष्टीकरणपत्र पुर्‍याइसकेका छन् । पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको आरोप लागेका उनीहरुलाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।