काठमाडौं - भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक बिहान सवा ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकको प्रारम्भमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीबारे उजुरीकर्तासँग छलफल गरिनेछ।

उजुरीकर्तासँगको छलफल सकिएपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने कार्यसूची छ।

समितिले सुनुवाइका लागि भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र संयुक्त अधिराज्यका लागि गौरवशमशेर जबरालाई आमन्त्रण गरेको छ।

संसदीय सुनुवाइपछि समितिले प्रस्तावित राजदूतहरूको नियुक्तिबारे आवश्यक निर्णय लिनेछ।