काठमाडौं - नेकपा एमालेको ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सशस्त्र प्रहरी फिर्ता भएका छन्। 

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सोमबारदेखि कार्यालयको सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीको टोली फिर्ता भएको हो।

यसअघि एमाले केन्द्रीय कार्यालयमा पाँच जना सशस्त्र प्रहरी २४ सै घण्टा सुरक्षाका लागि तैनाथ रहने गरेका थिए। २०७८ सालदेखि च्यासलमा सञ्चालन हुँदै आएको पार्टी कार्यालयमा उनीहरू नियमित रूपमा खटिँदै आएका थिए। आइतबारसम्म सुरक्षामा रहेका उनीहरू सोमबारदेखि फिर्ता भएका हुन्।

चार दिनअघि गृह मन्त्रालयले सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा आ–आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको थियो।

मन्त्रालयले निर्देशन र कार्यविधिविपरीत सुरक्षाकर्मी खटाएको पाइएमा त्यसका लागि जिम्मेवार अधिकृत तथा पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको थियो।

गृह मन्त्रालयले कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई दरबन्दीमा फिर्ता पठाउन दिएको निर्देशनपछि सोही निर्देशन कार्यान्वयन गर्ने क्रममा एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सशस्त्र प्रहरी पनि फिर्ता भएका हुन्।