तालिबानकाे आक्रमण बढेपछि अफगानिस्तानका सेना प्रमुख बर्खास्त
काठमाडौं - श्रृङ्खलाबद्ध रूपमा प्रान्तीय राजधानीहरू तालिबानले नियन्त्रणमा लिन थालेपछि अफगानिस्तानका सेना प्रमुख बर्खास्त भएका छन् । बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए।
अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र अफगानिस्तानमा १ हजार बढी सर्वसाधारण मारिएका छन्। परम्परागत रूपमा तालिबान विरोधी रहँदै आएको अफगानिस्तानको उत्तरी सहर मजार-ए-शरीफ पनि तालिबानी हमलाको चपेटामा परेको छ।
हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ। अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन्। त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका थिए। यद्यपि बाइडनले ‘आफ्नो देशका लागि लड्न’ अफगान नेताहरूलाई एक हुन आह्वान गरेका थिए ।
बीबीसी
फेसबुक पेज Like गर्नुहोस