काठमाडौं - नामै कमलादेवी । दक्षिण एसियाली नाम । सङ्घर्षले उठाएको कद । मावली भारत रहेकी कमलादेवी अमेरिकामा उपराष्ट्रपति, त्यो अपार सम्भावना तर सङ्घर्षको गाथा कति कति ।

संयुक्त राज्य अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट इतिहास रच्दै पूर्व हार्वर्ड विद्यार्थी ५६ वर्षीया अश्वेत महिला कमलादेवी ह्यारिस उपराष्ट्रपति बन्न सफल भएका छन् । विश्व शक्तिराष्ट्र अमेरिकामा भएको उनको यो जितले विश्वभरकै महिला वर्गमा फरक खुसी छाएको छ । आफूलाई अमेरिकाको उपराष्ट्रपतिसँगै सिनेटर, कसैकी पत्नी, आमा र अधिकारकर्मीका रूपमा उनले परिचय सार्वजनिक गरेकी छन्।

हुन त अमेरिकाभन्दा अघि नै धेरै मुलुकमा महिला राष्ट्रप्रमुख भइसकेका छन् तर अमेरिकामा भने कमलादेवी नै महिलाबाट पहिलो उपराष्ट्रपति भएका छन् । संयोग कस्तो भने महिलाले मतदान गर्न पाएको एक सय वर्षपछि उनी उपराष्ट्रपति बनिन् । लामो राजनीतिक इतिहासमा महिला राष्ट्रपति भएको त अमेरिकी इतिहासै छैन । चार वर्षअघिको निर्वाचनमा हिलारी क्लिन्टन निर्वाचित हुने व्यापक आशा गरिए पनि अन्तिम समयमा उनी पराजित भइन् । राष्ट्रपतिको उम्मेदवार भने उनी पहिलो हो ।

कमलादेवीको यस पटकको यो विजयले चार वर्षअघि राष्ट्रपति पदमा हिलारीको हारको चोट थोरै भए पनि मत्थर गराउन सकेको महसुस गरिएको छ । तथ्याङ्क अनुसार अमेरिकामा पुरुषको तुलनामा महिला मतदाता बढी छन् । जसको पुष्टि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ६३.३ प्रतिशत महिलाले मतदान गरेबाट हुन्छ ।

“म महिला सङ्घर्षको लामो चरणपछि अमेरिकाको पहिलो उपराष्ट्रपति बनेँ होला तर म नै अन्तिम भने होइन । हरेक महिला र युवतीले अब देखिरहेका छन् कि यो सम्भावनाहरूको देश हो,” उनले जितपछि गरेको यो पहिलो सम्बोधनले अमेरिकामा महिलाका लागि उच्च पदको ढोका खोलिन सक्छ भन्ने आशाको सन्देश दिएको छ । त्यसका लागि सपनासहितको महत्वकाङ्क्षा र विश्वाससहितको जीवन बाँच्नुपर्नेमा उनले जोड दिइन् ।

अमेरिकामा सिनेटर बन्न अमेरिकी नागरिक भएको नौ वर्ष र उमेरले ३० वर्ष पुगेको हुनुपर्छ । हाउस अफ रिप्रिजेन्टेटिभ बन्न अमेरिकी नागरिकता प्राप्त गरेको सात वर्ष र २५ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान संविधानमा छ । सिनेटर भएपछि राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न महिला र पुरुष दुवैका लागि समान रूपले योग्य मानिने व्यवस्था छ ।

आफ्नो जितको श्रेयमा महिला वर्गको विशेष स्थान रहेको भन्दै उनले आफ्नी आमा श्यामला गोपालनलाई पहिलो धन्यवाद व्यक्त गरे । जब उनी भारतबाट १९ वर्षको उमेरमा अमेरिकामा पुगेका थिए । त्यो बेला पक्कै पनि यो पल आउला भन्ने कल्पना उनले गरेकी थिइनन् तर अमेरिकाका अनन्त सम्भावना हुन सक्छ भन्ने कुरामा उनको गहिरो विश्वास थियो ।

त्यसैले अमेरिकामा इतिहास निर्माण गर्ने आफ्नी आमा, आममहिला र अश्वेत जातिका महिलासँगै अमेरिकाका सबै महिला जितको हकदार रहेको उनले स्मरण गरिन् । उनले महिला जसले सबैको समानता, स्वतन्त्रता र न्यायका लागि अत्यधिक सङ्घर्ष गरिरहेको उल्लेख गरिन् । विशेषगरी अश्वेत जातिका महिलाले अमेरिकाको प्रजातन्त्रका लागि महत्वपूर्ण योगदान गरेको उनको भनाइ छ । “म आफैँ पनि मेरो पति डगलस एमहाफको काँध चढेर आज अमेरिकाको उपराष्ट्रपति बनेको छु,” उनले भनिन् ।

आफू प्रजातन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको उनले स्पष्ट गरिन् । प्रजातन्त्रको रक्षा गर्न सङ्घर्ष माग्छ, अनि यसले त्याग र बलिदान माग्छ तर यसमा रमाइलो पनि छ । अब वास्तविक काम सुरु गर्ने समय आएको भन्दै उनले अमेरिकी जनतालाई विश्वास दिलाएकी छन् । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) महामारीलाई निस्तेज पार्न, अर्थतन्त्रको पुनर्निर्माण, जातिवादको जरा उखेलेर फ्याँक्न अनि समाजको न्याय प्रणाली सुधार गर्न आगामी यात्रा सहज नभए पनि अमेरिका, नयाँ राष्ट्रपति र आफू तयार रहेको उनले स्पष्ट पारे ।

उपराष्ट्रपति ह्यारिस आफ्नी चेतनशील आमा श्यामलाको औँला समाउँदै अमेरिकी राजनीतिक यात्रामा प्रवेश गरिन् । मानिसले आफ्नो जीवनमा गुनासो गरेर समय व्यतित गर्नुभन्दा केही राम्रो गरेर देखाउन सक्नुपर्ने प्रेरणा ह्यारिसका लागि अमृत बन्यो । जमैकाका अर्थशास्त्रका विद्यार्थी डोनाल्ड ह्यारिस र भारतकी पोषण तथा हर्मोन सम्बन्धित विषयकी विद्यार्थी श्यामला क्यालिफोर्नियामा विद्यावारिधि गर्दा सन् १९६० ताका भेट भएको थियो ।

अधिकारकर्मी र राजनीतिक चेतना छर्ने अभियानको साझेदारीसँगै उनीहरूले एकअर्कासँग जीवन साटेका थिए । जेठी कमला र कान्छी छोरी मायाको जन्मपछि पनि उनीहरूले दुवैलाई सानैदेखि चेतनशील पथमा डोेर्‍याएका थियो । आन्दोलनमा आमाबुवासँगै गएका बेला प्रहरी दमनबाट ज्यान जोगाउन कमला र सानी बहिनीले कसरी दौडेर ज्यान बचाउने भन्ने जानी सकेका थिए ।

गोरखापत्र दैनिकबाट