काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द साह ‘बालेन’ बिरामी परेपछि काठमाडौं फर्किएका छन् । 

चुनावी अभियानका क्रममा सुदुरपश्चिमको धनगढीको सभा सकेर सुर्खेतको वीरेन्द्रनगर पुग्दा उनी बिरामी परेका थिए ।

बुधबार धनगढीको सभा सकेर रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता साहसहितको टोली सुर्खेत गएको थियो । सुर्खेतमा बिहीबार रास्वपाले पार्टीको वाचापत्र सार्वजनिक गरेको थियो ।

वाचापत्र सार्वजनिक कार्यक्रममा उनी पनि सहभागी भएर करिब ३ मिनेट भाषण गरेका थिए । 

पेट दुख्ने, कमजोरी महसुस हुने र वान्ता हुने भएपछि उनी बुधबार राति नै सुर्खेतको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए । राति ३ बजे अस्पताल गएका शाहले बिहान ६ बजेसम्म अस्पतालमै बसेर उपचार गराएको स्रोतको दावी छ । 

चिकित्सकको सुझावअनुसार साह बिहीबार सुर्खेतको कार्यक्रम सकेर काठमाडौं आएका हुन् । सुर्खेतको कार्यक्रमपछि रास्वपाको टोली दाङ जाने कार्यतालिका तय थियो । तर दाङमा सभापति लामिछानेमात्रै पुगेका थिए ।

रास्वपाले शनिबार र आइतबारका भैरहवा र पोखरामा तय गरेको चुनावी सभा पनि स्थगित गरेको जनाएको छ । रास्वपाका कार्यकर्ताले विहिबार एमालेको झण्डा जलाएपपछि मुठभेड हुने डरले चुनावी सभा स्थगित भएको बुझिएको छ । यद्यपी रास्वपाले भने यसलाई घुसपेठको सज्ञा दिएको छ ।