काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक शनिबार बिहान ११ बजे बस्ने तय भएकाे छ । शनिबारदेखि शुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रतिवेदन पेश गर्नेछन् ।

एकिकृत नेकपालाई खारेज गर्ने सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि पूर्ववत् रूपमा नै फर्किएको नेकपा माओवादी केन्द्रले पार्टीको संगठन विस्तारदेखि वडातहसम्मका संगठन निर्माणको कामलाई अगाडि बढाउन सकेको छैन। यी विषयमा केन्द्रीय कमिटी बठकले ठोस निर्णय गरेर देशव्यापी पार्टी संगठन निर्माणको अभियानलाई अघि बढाउने स्रोतको दाबी छ । 

केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक बसेको थियो । उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डले बामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।  बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो  ।