काठमाडौं - मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।

‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन्, बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ’, जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने ।

शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।

हाल देभभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।