काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले भने, ‘सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम शुरू गरिने छ ।’मंसिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण पूरा हुन नसकेको उनले स्पष्ट गरे । सुरुङ मार्गको मुखमा राखिने स्टिलको फ्रेम अहिले निर्माण भइरहेको बताउँदै आयोजना प्रमुख शाक्यले भने, ‘सुरुङ खन्न अब कुनै तयारी बाँकी छैन । फ्रेम निर्माण गरिरहेको बुटबलस्थित कम्पनीका कामदारमा कोभिड–१९ को संक्रमण देखिँदा कम्पनी केही समय बन्द भएकाले समयमा फ्रेम निर्माण हुन सकेन । पहिलो फ्रेम हाल्नुपर्छ, फ्रेम हालेको ८–१० दिनपछि सुरुङ खन्ने काम शुरू हुन्छ ।’’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको मुलुककै पहिलो आधुनिक उक्त सुरुङमार्ग निर्माणका लागि अहिले आवश्यक जनशक्ति र उपकरण पूरा भइसकेकाले अब आयोजनाको काम विना अवरोध अगाडि बढ्ने र निर्धारित समयमै काम सम्पन्न हुने लक्ष्य लिइएको जनाइएको छ । प्रधानमन्त्री ओलीले गएको कात्तिक ४ गते सुरुङमार्ग शिलान्यास गरेका थिए । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित २०० भन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । जापानबाट थप १५ जना प्राविधिक आउने तयारीमा छन् ।

सुरुङमार्ग निर्माण गर्न ९०० टन विस्फोटक पदार्थ आवश्यक रहेकोमा निर्माण स्थलको भण्डारण क्षमताअनुसार अहिले ६० टन आयात गरिएको छ । भण्डारण गरिएको सकिनेबित्तिकै पुनः आयात गरिनेछ । ९०० टनमध्ये ३०० टन भारतबाट आयातका लागि नेपाली सेनाले यसअघि नै आयोजनालाई अनुमति दिइसकेको छ ।

दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उनले अबको १ वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिने जानकारी दिए । करीब २.७ किलोमिटर लम्बाइको सुरुङ मार्गको चौडाइ करीब १२ मिटर र उचाइ ८ मिटर हुनेछ । राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको छ । राजमार्गको ठीक ५ मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ ।

मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माण निर्धारित समयमै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै उनले हरेक दिन ४ वटा विस्फोट गराइने जानकारी दिए । ‘निर्माणका क्रममा ‘होल’ खनिन्छ र बिस्फोट गराइन्छ । यो क्रम दैनिक ४ पटकसम्म गरिन्छ,’ उनले भने, ‘निर्माणलाई निरन्तरता दिन अब कुनै बाधा अवरोध छैन । सुरुङमार्गको निर्माण अब ‘नन स्टप’ अगाडि बढ्छ ।’

निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले व्यवस्थापन गर्ने काम भइरहेको छ । ८ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला व्यवस्थापन गर्ने काम भइरहेको छ ।

गोरखापत्र दैनिकबाट