काठमाडौं - नेकपाको ओली समूहका नेता रामबहादुर थापा बादलले अवसरवादी, गुटवादी र पदलोलुपले वर्तमान परिस्थिति सिर्जना गरेको बताएका छन्।

विराटनगरमा आयोजित ओली पक्षको सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव समूहका नेतालाई फूटवादीको संज्ञा दिएका हुन् । उनले फुटवादीले असमान्य परिस्थित सिर्जना गरेको भन्दै त्यसविरुद्ध आफूहरु लागिपरेका बताए। उनले पार्टीकै आन्तरिक पंक्तिबाट अस्थिरता सिर्जना गर्ने षड्यन्त्र गरिएको बताए।

गृहमन्त्री समेत रहेका थापाले भने, ‘अवसरवादी, गुटवादी र पदलोलुपले यो परस्थिति जन्माए। फुटवादीले असमान्य परिस्थित सिर्जना गरेका हुन् । देशलाई अस्थिरता धकेलेर प्रतिगमनकारी खुशी भएका छन्।’

उनले देश नयाँ अभियान र दिशामा अघि बढिरहेको पनि बताएका छन्। सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न जनताहरु ओली पक्षमा लामबद्ध भएको उनको दाबी छ। ‘असामान्य परिस्थितिबाट अघि बढिरहेका छौं। अस्थिरताका विरुद्ध लामबद्ध हुनुभएको छ। लोकतन्त्रको रक्षाका निम्ति। भित्र र बाहिरका शक्तिले षडयन्त्र गरेका छन्। त्यसकाविरुद्ध सिंगो देश एकबद्ध भएको छ।’

उनले सरकार र पार्टीको नेतृत्व हत्याउने अवैधानिक पर्यत्न प्रचण्ड–नेपाल समूहले गरेको बताए। त्यसलाई उनले प्रतिगमनको संज्ञा दिए। प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जानु अग्रगामी कदम भएको भन्दै गोएबल्स शैलीमा प्रतिगमन भनेर भ्रम फैलाइएको बताए। उनले प्रचण्ड-नेपालको पद हासिल गर्ने आकांक्षा पूरा नहुने दाबी पनि गरे।