काठमाडौं - गृहमन्त्री रमेश लेखकले तीनकुनेको हिंसात्मक घटना राज्य र संविधान व्यवस्था उल्ट्याउने ढंगले भएको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले पुर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको अभिव्यक्ति र विगतका पृष्ठभूमिलाई केलाएर हेर्दा व्यवस्था खारेज गर्ने गरी हिंसात्मक घटना भएको वताए ।

त्यो घटनामा कुनै राजनीतिक दल प्रेरित नभएको बताउदै गृहमन्त्री लेखकले भने–‘तीनकुनेमा भीडलाई उत्तेजक बनाउन संसद् भवन कब्जा गर्नुस् भनेर भीडलाई उत्तेजक बनाउने काम भयो, निषेधाज्ञा तोड्ने गतिविधि भयो, त्यसपछि उत्तेजित भीड विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रियो।’

आन्दोलनकारीका अगुवाबाट उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी हिंसात्मक, अमानवीय, अमार्यादित र उच्छिङ्खल ढंगले भएको गृहमन्त्रीको भनाई थियो ।

गृहमन्त्री लेखकले भने–‘प्रदर्शनको उद्देश्य नेपालको वर्तमान संविधान र यो व्यवस्था उट्याउने, समावेशि चरित्र समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो। त्यसैले यो कार्यक्रमलाई शान्तिपूर्ण प्रदर्शन गर्ने, आफ्नो धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र ध्यानाकर्षण गर्ने उद्देश्यले प्रेरित थियो भन्यो भने ठिक हुँदैन। यसमा द्विविधा छैन।’

उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी निजी घर, सञ्चार गृह, दमकल र प्रहरीलाई आक्रमण मात्रै गरेनन् भाटभटेनी तोडफोड, जडिबुटीको उद्योगमा आगलागी समेत गरेको गृहमन्त्रीले बताए ।