काठमाडौं - चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार भदौ १४ गते बिहान ९ बजेसम्म विभिन्न जिल्लामा ७३४ जनाको शव फेला परेको हो ।

बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। प्राधिकरणका अनुसार चितवनमा विभिन्न मानव अंगसहित २५९ शव फेला परेका छन्।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ शव फेला परेको प्राधिकरणले जनाएको छ ।

भोटेकोसी बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन्।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा भन्सार कार्यालयका कर्मचारीसमेत रहेका छन्।

बाढीले विशेषगरी रसुवा–नुवाकोट क्षेत्रका जलविद्युत् आयोजना तथा सीमावर्ती क्षेत्रमा कार्यरत ठूलो संख्याका मानिसलाई प्रभावित बनाएको छ।

सम्पर्कविहीनमध्ये ५८९ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, विदेशी पर्यटकसँगै भ्रमणमा गएका १२७ जना नेपाली नागरिक समेत अझै सम्पर्कविहीन छन्।

यही भदौ १० गते बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। 

p1-1788062522.jpg