काठमाडौं - सरकारले बाढी प्रभावित क्षेत्रमा स्वीकृतिविना ड्रोन उडान गर्न निषेध गरेको छ ।

रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा उद्धार कार्य भइरहेका बेला जथाभाबी ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम बढेको भन्दै गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइएको पाइएको जनाएको छ। ड्रोन उडानका कारण उद्धार कार्यमा खटिएका हेलिकप्टरको सञ्चालनमा बाधा पुग्नुका साथै हवाई सुरक्षामा समेत गम्भीर जोखिम उत्पन्न हुन सक्ने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबाट अनुमति नलिई ड्रोन नउडाउन सबै व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ। अनुमति नलिई ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

‘उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडान गरिरहेको पाइएको छ। यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भई उद्धार कार्य प्रभावित हुने देखिन्छ,’ गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको खोज तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन भइरहेका छन्।