काठमाडौं,कैलाली - कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । 

मंगलबार बिहान बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थानीयले गरेको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारी घाइते भएका छन् । 

युवतीको मृत्युपछि आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

घाइते प्रदर्शनकारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । झडपमा केही प्रहरी कर्मचारी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बसको ठक्करबाट लम्कीचुहा नगरपालिका १ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको छ । लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले युवतीलाई ठक्कर दिएको थियो ।  प्रहरीले बस चालक पुष्प कडेललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।