काठमाडौं - अधिकांश संवैधानिक आयोगले आज पूर्णता पाउने भएका छन् ।

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनुवाइबिनै आज सपथ गराइने भएको हो ।

स्रोतका अनुसार बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय भएको छ । नियुक्ति पछि पदाधिकारीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।

यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी भएका थिएनन् । त्यसअघिको बैठकमा गणपुरक सदस्य नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका थिए । सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने हुन्छ । तर, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संवैधानिक परिषदबाट सिफारिस भएकाहरूको ४५ दिनसम्म संसदीय सुनुवाइ नभए स्वतः नियुक्ति मानिने व्यवस्था छ।