काठमाडौं, सिन्धुपाल्चोक - मेलम्ची खोलामा फेरि आएको बाढीले ४६ घर र दुई पुल बगाएको छ। लेदो माटो, ढुंगा र काठ मिसिएर आएको बाढीले हेलम्बु क्षेत्रमा थप भौतिक क्षति पुर्‍याएको हो। शनिबार राति हेलम्बु क्षेत्रमा भारी वर्षा भएपछि बाढी आएको हो।

सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए। उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। ‘बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।’

अघिल्लो बाढीमा जोगिएको यो पक्की पुल (ट्रस  ब्रिज) आइतबार बिहान बगेको हो। शनिबार रातभर मेलम्ची यो पक्की पुलमाथिबाट बगेको थियो। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुलमात्र बग्नबाट बचेको थियो। गाउँपालिका र स्थानीयको प्रयासमा जाली गारो र ढुंगाले सहयोग दिएर यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनः अर्को बाढी आएको हो। बाढीले चनौटे बजारमा बढी क्षति गरेको प्रहरीले जनाएको छ।

अघिल्लो बाढीपछि क्षति पुगेका अधिकांश घर खाली थिए। बाढीले ल्याएको लेदो माटो र ढुंगा पन्छाएपछि केही घरमा मात्र स्थानीय बस्न थालेका थिए। धेरै घर खाली रहेको र बसोबास भएका घरका स्थानीयले पनि समयमै छोडेकाले मानवीय क्षति भने हुन पाएन। बाढीले ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको एसपी अधिकारीले जानकारी दिए। उनका अनुसार बाढीले अरू दुई झोलुंगे पुल छोपेको छ। पुल माथिबाट मेलम्ची बगेकाले यी पुलको क्षतिको अवस्था यकिन छैन।

बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो। बाढीले यसअघि जोगिएका ग्याल्थुम र तालामाराङ बजार जोखिममा परेको प्रहरीले जनाएको छ। तालामाराङको प्रहरी चौकी बाढीको जोखिममा परेपछि शनिबार राति नै सुरक्षाकर्मी अन्यत्र सरेका छन्। मेलम्ची वारपार भएर नदीको दुवैतिर कटान गर्दै बगिरहेको छ। यसअघि गत असार १ गते हेलम्बु गाउँपालिका–१ भ्रेमाथाङबाट आएको पहिरोका कारणले मेलम्ची खोलामा बाढी आउँदा झन्डै ३० किलोमिटर तल मेलम्ची बजारसम्म ठूलो जनधनको क्षति पुगेको थियो।  

नागरिक दैनिकबाट