चितवन राइनोजले जित्यो पीपीएलको उपाधि
काठमाडौं - पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिको चितवन राइनोजले जितेको छ । शनिबार पोखरा क्रिकेट रंगशालामा फाइनल खेलमा बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि चुमेको हो ।
चितवनले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगर निर्धारीत २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनमै समेटियो । चितवन दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । गत संस्करणमा चितवन उपविजेतामै सिमित भएको थियो ।
बिराटनगरका लागि अहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितको लागि पर्याप्त हुन सकेन ।
यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ बनाउँदा पुनित मेहेराले ३२ रन जोडे ।चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाको नाममा १ विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।चितवनका लागि रोहन मुस्ताफा र अनिल कुमार शाहले अर्धशतकिय पारी खेले । रोहन र अनिल समान ५०/५० रन बनाउँदै क्याच आउट भएका थिए । करण केसीले २६ रन जोडे । यस्तै, पारस खड्काले २५ रन बनाउँदा आरिफ शेखले १९ रन बनाए । सन्नी पटेलले १६ बनाए ।विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २/२ विकेट लिए । यस्तै, किशोर महतोले १ विकेट लिए ।
फेसबुक पेज Like गर्नुहोस