काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्का गतिविधि तथा समसामयिक विषयबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटका क्रममा संसद्मा भइरहेका कामकारबाही, विचाराधीन विधेयकहरूको अवस्था र सदनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन संसद्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संसदीय अभ्यासलाई अझ प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।


राष्ट्रपति र सभामुखबीच नियमित भेटघाटको क्रममा भएको उक्त वार्तामा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र राज्यका महत्वपूर्ण विषयहरूमा समेत संक्षिप्त छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ।