काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सघन छलफलमा जुटेका हुन् । मंगलवार साँझ देउवासहित छलफल गरेका प्रचण्ड र नेपालले  बुधवार जसपाका अध्यक्ष यादवको घरमा छलफल गरेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ भने कांग्रेसले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल बनाउने निर्णय गरिसकेको छ । जसपाको यादव–भट्टटाई पक्षले पनि प्रधानमन्त्री ओलीलाई साथ नदिने बताएको छ भने एमालेकै नेपाल पक्ष असन्तुष्ट छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसद्बाट विश्वासको मत लिन लागेका छन् । त्यसका लागि सो दिन अपराह्न १ बजे बैठक बोलाइएको छ । तर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन सहज छैन ।