काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्।

वाग्ले दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत बैंकक जाने कार्यक्रम छ।

विश्वभरका अर्थमन्त्री तथा उच्चपदस्थ आर्थिक अधिकारीहरूको सहभागिता रहने बैठकका क्रममा वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा भाग लिने कार्यक्रम तय भएको छ।

अर्थमन्त्रीसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख एवं सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जाने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय आर्थिक सहकार्य र विकास वित्तसम्बन्धी विषयमा छलफल हुने विश्व बैंक समूह तथा आईएमएफको वार्षिक बैठकलाई विश्व अर्थतन्त्रका समसामयिक चुनौती, आर्थिक स्थायित्व र विकासका प्राथमिकताबारे संवाद गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा लिइन्छ।

बैठकमा सहभागी भएर अर्थमन्त्री वाग्ले आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।