काठमाडौं - सांसद खगेन्द्र सुनारले सार्वजनिक अडिओ प्रकरणको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका छन्।

उनले आफूमाथि उठेका प्रश्न र आरोपको जवाफ दिन तयार रहेको बताउँदै छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार बिहान भिडिओ सन्देश जारी गर्दै सुनारले सार्वजनिक अडिओ एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको उनको भनाइ छ।

‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडिओ सार्वजनिक गरिएको छ। आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन्। एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार हुन्,’ उनले भनेका छन्।

आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य पत्ता लगाउन उनले पार्टी र सरकारसँग आग्रह गरेका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफू अन्याय र घृणाको निशानामा परेको दाबी गर्दै उनले त्यसको सामना गर्न र सबै प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन्।

‘ममाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई हार्दिक अपिल गर्न चाहन्छु। घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले भनेका छन्।

सुनारले सार्वजनिक अडिओका विषयमा फैलिएका भ्रममा नपर्न आम नागरिकलाई अपिलसमेत गरेका छन्। आफूमाथि हुने कुनै पनि छानबिनमा सबै पक्षलाई सहयोग गर्ने उनको प्रतिबद्धता छ।

यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनारका विषयमा आन्तरिक अनुसन्धान सुरु गरिएको जनाएको छ।