काठमाडौं - लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । 

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उक्त रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो । चुनावी मैदानमा सत्तारुढ एमालेतर्फबाट खड्का स्वयं छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे छन् । 

पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर काँग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बनेका हुन् । उनीमाथि राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जसपा (उप्रेन्द्र–बाबुराम)को समेत समर्थन छ । एमालेका खड्कालाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले दुवै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेको छ । पाण्डेलाई रुख र खड्कालाई सूर्य चिन्ह प्रदान गरिएको छ । लुम्बिनीमा प्रदेशसभा सदस्य ७९ र स्थानीय तहका प्रमुख-उपप्रमुख २१७ जना गरी राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा २९६ मतदाता छन् । 

मतदानको कार्यक्रम दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म छ । ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वटा मतदान केन्द्र बनाइएका छन् । जसमा ‘ग’ कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र तोकिएको छ । आजै मतपरिणाम आउने सम्भावना छ ।