काठमाडौं - राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ । 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । 

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत  गरेका थिए ।  

त्यसअघि सांसदहरूले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए  । 

यसैगरी राष्ट्रिय सभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयक प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतमले प्रस्तुत गरेकी थिइन् ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौतमले बदलिँदो समय र समाजको आवश्यकताअनुसार कानून परिमार्जन हुनुपर्ने धारणा राखिन् । उनले सार्वजनिक खरिद ऐनलाई ‘रुपान्तरणकारी’ ढंगले अगाडि बढाइएको बताउँदै अभ्यासका क्रममा थप सुधारको आवश्यकता देखिएमा पुनः संशोधन गर्न सकिने प्रतिबद्धता व्यक्त गरिन् ।

बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि दफावार छलफल भएको थियो ।

छलफलका क्रममा समितिको प्रतिवेदनमा अध्यक्षले निर्णयार्थ प्रस्तुत गरेको उक्त विधेयकको पक्षमा उपस्थित सबै सदस्यहरूले समर्थन जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो ।

यो विधेयक पारित भएसँगै अब सार्वजनिक खरिद प्रक्रियामा रहेका कानूनी जटिलताहरू हट्ने अपेक्षा गरिएको छ ।