काठमाडौं - आज काठमाडौंमा दुई अप्रिय घटना भए । बिहीबार अपराह्न ४ बजेतिर एक महिलाले धोबीखोलामा हाम फालेर आत्महत्या गरिन् भने त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरे । 

अपराह्न ४ बजेतिर कालोपुल र रातोपुलको बीचमा पर्ने खोलामा हाम फालेकी महिला मृत फेला परेकी छन्। 

महिलाको शव बल्खुको कुमारी क्लब अगाडि बागमती नदीमा फेला परेको  काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

यता, त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। उनको अहिले वीर अस्पतालमा उपचाररत छन्। 

उनलाई अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। बिरामीको शरीरको झन्डै ६० प्रतिशत भाग जलन उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

बिरामीको अनुहार, टाउको, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। बिरामीले सामान्यरूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।