काठमाडौं - धितोपत्र कारोबार हुने तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ। 

नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा बन्द भएको छ।  नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। यसदिन २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता सेयर २ अर्ब २९ करोड ९३ लाख  १६ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भयो।

यसअघि दुई कारोबार दिन आइतबार र सोमबार नेप्से परिसूचक क्रमश : १.९३ र १८.०३ अंकले बढेको थियो।

सोमबार १ अर्ब ३१ करोड २९ लाख र आइतबार १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज सेन्सेटिभ इन्डेक्स २.८० अंकले बढेर ३९१.५६ विन्दुमा अडिएको छ।

दोहोरो अंकले बढेको सेयर बजारमा आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।  इमर्जिङ नेपालको ८.०१ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १५ करोड बढीको सेयर कारोबार भयो। यस्तै, १० करोड बढीको कारोबार गरी एभरेष्ट बैंक दोस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ।  यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक २.७ प्रतिशतले बढ्यो। ट्रेडिङ, होटल्स एन्ड टुरिजम,डेभलपमेन्ट बैंक,मनु एन्ड प्रो र माइक्रोफाइनान्स समूहको सूचक १ प्रतिशत बढीले उकालो लाग्यो।