काठमाडौं - सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीहरूको सरुवासमेत गरेको छ ।

यस्तै, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ ।

उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने कार्य पुनः सुचारू गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न २२ ओटा निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको छ । 

कोभिड १९ रोकथाम तथा व्यवस्थापनको काममा सरकार निरन्तर लागिvपरेकाले नागरिकलाई जिम्मेवार बन्न मन्त्री खतिवडाले आग्रह समेत गरे । “नागरिक जिम्मेवार तथा अनुशासित भएमा कोभिड १९ संक्रमण हुन पाउँदैन, संक्रमण नबढेमा निषेधाज्ञा पनि लागू हुँदैन” उनले भने । लकडाउन, निषेधाज्ञा गर्ने सरकारको रहर नभई बाध्यता भएको उनले प्रष्ट पारे ।

सरकारले पठाएको रकमको चौमासिक प्रतिवेदन सरकारलाई पठाउनुपर्ने, नपठाएमा रकम निकासा नहुने, तोकिएकै ठाउँमा खर्च हुनुपर्ने सरकारले भनेको छ । सहन्यायधिवक्ता पदमा ज्ञानप्रसाद भुजेललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तै, उद्योग मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको समेत काम गर्नेगरी जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।