आजदेखि भद्रपुर विमानस्थल सञ्चालन
झापा - भद्रपुर विमानस्थल आज शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल सञ्चालनमा आएको जनाएको छ ।
मर्मत तथा स्तरोन्नतिका लागि गत कार्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो । ‘निर्माण कम्पनीले १० दिनको अवधिमा रातदिन खटेर काम गरेर कार्य सकेको हो,’ चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले भने, ‘आजदेखि पुनः विमानस्थल आएको छ । अबदेखि नियमित उडान हुन्छ।’
विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो । जीर्ण बनेपछि धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो । धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग बिस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो
फेसबुक पेज Like गर्नुहोस