पोखरा - पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार चौथो खेल जित्दै पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरेको छ । आइतबार भएको खेलमा विराटनगर टाइटन्सलाई १८ रनले हराउँदै चितवनले प्लेअफमा स्थान पक्का गरेको हो ।

पोखरा रंगशालामा आइतबार जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९ औं ओभरमा अल आउट हुँदै १ सय २४ रनमा समेटिएपछि चितवनको प्लेअफ यात्रा पक्का भएको हो । विराटनगरका लागि युवा ब्याट्सम्यान लोकेश बमले ३६ बलमा ५ चौका र ५ छक्कासहित ६२ रनको अर्धशतकीय योगदान दिए पनि टोलीको पराजय रोक्न सकेनन् ।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले सुरुवातदेखि नै खराब प्रदर्शन गर्‍यो । दोस्रो ओभरको पहिलो बलमै सन्नी पटेलले ओपनर मोहम्मद जैद आलमलाई १ रनमा एलबी डब्लू आउट गरे । तेस्रो ओभरको पहिलो बलमा करण केसीले अर्का ओपनर सुनिल धमलालाई विकेटकीपर अनिल कुमार शाहबाट ५ रनमा क्याच आउट गराए ।

लगातार खराब प्रदर्शन गरेको विराटनगर थप कमजोर त्यतिबेला भए जतिबेला छैटौं ओभरको अन्तिम बलमा भुवन कार्कीले कप्तान प्रदीप ऐरीलाई ९ रनमा बोल्ड आउट गरे । भुवन कार्कीले नै राजु रिजाललाई १ रनमा एलबी डब्लू आउट गरे ।

आठौं ओभरको चौथो बलमा भुवनले पाकिस्तानी युवा ब्याट्सम्यान नोमन खानलाई १८ रनमा एलबी डब्लू आउट गरेपछि विराटनगरको संकट थप चुलियो । नोमनले १६ बलमा २ चौका र १ छक्का प्रहार गरेर खेलिरहेका थिए ।

नवौं ओभरको दोस्रो बलमा पुनित मेहरासँग रनमा तालमेल गर्न नसक्दा राजेश पुलामी मगर शून्यमा रन आउट हुँदा विराटनगर ३७–६ को कमजोर अवस्थामा पुगेको थियो । सातौ विकेटका लागि युवा ब्याट्सम्यान लोकेश बम र पुनित मेहराले ७७ रनको साझेदारी गर्दै विराटनगरलाई सम्मानजनक स्कोरमा पुर्‍याए ।

१८ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाले पुनितलाई २४ रनमा बोल्ड आउट गरेपनि विराटनगरको जित्ने सम्भावना सकिएको थियो ।रोहन मुस्तफाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सन्नी पटेलको नाममा १ विकेट रह्यो ।

त्यसअघि पोखरा रंशालामा टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।