‘नर्स दिदि, तपाई एक घण्टा छिटो घर जाँदा कोही मान्छे घर पुगेनन्’
काठमाडौं - ‘नर्स दिदि, तपाई एक घण्टा छिटो घर जाँदा कोही मान्छे घर पुगेनन्’
काठमाडौं । ‘एउटा मेसिन बिग्रिँदाखेरी त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर- भाइ दुवै मेसिन बिग्रियो भनेर अफवाह फेलाउनु भयो। उहाँलाई कारवाही हुने कि नहुने ? 'भाइ सूचना नै आइसक्यो' भन्नुभयो। सूचना आएकै छैन। डाक्टरले युरिया उहाँको ब्रेनमा पुगिसक्यो, प्लिज चार घन्टा डायलासिस गरिदिनुस् भन्नुभयो। डाक्टर हुँदा चार घन्टाको टाइमर सेट गर्ने अनि डाक्टर गइसकेपछि तीन घन्टामा झारिदिने ! एक घन्टा टाइम घटाएर बाँच्ने आयु पनि घटाइदिएको हो नि दिदी हजुरले। हजुरलाई छिटो घर पुग्नु थियो होला तर कोही मान्छे चाहिँ घर पुगेनन् क्या ! घरै पुगेनन्। एक घन्टा घटाइदिनाले। त्यसको लागि धेरै धेरै धन्यवाद।’
कमेडियन आदर्श मिश्राले बुबा विनोद मिश्राको निधन भएपछि सामाजिक सञ्जालमार्फत् एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन् । उनले अस्पतालको लापरबाहीको कारण आफ्नो बुबाको यो संसारमा नरहेको बताए ।
सार्वजनिक भिडियोमार्फत आदर्शले भनेका छन्, ‘बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो। चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो। प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ। कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने। अनि त्यहाँ चाहिँ मेसिनहरु केही पनि राम्रो छैन। एनएमसीको कन्ट्र्याक्ट लिएको छ नेफ्रो प्लसले जुन इन्डियन कम्पनी हो। अनि इन्डियाको एक नागरिक जो नेपालमा कार्यरत छ त्यसले डिसाइड गर्न पाउँदैन- कसको डायलासिस हुन्छ कसको हुँदैन भन्ने। को बाँच्छ र को बाँच्दैन भन्ने डिसाइड इन्डियाबाट यहाँ आएर कार्यरत गर्ने व्यक्तिले गर्न पाउँदैन। इन्डियाको मानिस यहाँ आएर तलब खाने हो, नेपालको पेसेन्टलाई हप्काउने होइन। हाम्रो लाइफ त्यसको हातमा छैन।’
आदर्शकले बुबाको निधन भएपछि आफूले आमालाई झुटो बोलेको समेत बताएका छन् ।
‘बिहान १० बजे डाक्टरले मलाई बोलाउनु भयो। भन्नुभयो- आदर्श, हामीले जे गर्न सक्थ्यौं गर्यौं। बाबा अब हुनुहुन्न। त्यसपछि मैले तीनवटा शब्दमात्र भने- ठीक छ। ठीक छ। ठीक छ। अनि म चुप लागेर गएर बसेँ। तीन घन्टासम्म अस्पतालमा मलाई मात्र थाहा छ बाबा बितिसक्नुभयो भनेर। दिदीलाई थाहा छैन, ममीलाई थाहा छैन। अब झुट बोल्नेक्रम चालु भयो। पहिले देखि बानी थियो झुट बोल्ने। यसपाला ढाड्न लास्टै जरुरी थियो के१ यसपाला ढाट्दा समातियो भने चाहिँ धेरै गाह्रो हुन्थ्यो। मेरो ममीले यसअघिदेखि नै टाउको र हात भित्तामा हान्न थालिसक्नु भएको थियो। ममीले डिप्रेसनको औषधी चलाइरहनु भएको छ। अहिले पनि खाइरहनु भएको छ। अस्पतालमा एकपछि अर्को झुट बोलिरहेँ- 'ममी बाबाको रिडिङ स्टेबल आएको छ। मुटुको धड्कन देखाइरहेको छ। बिस्तारै ठीक हुनुहुन्छ।' भन्दा भन्दै, ढाट्दा ढाट्दै। अन्तिममा गएर सन्देश र राकेशले आएर सम्हाले मलाई। नत्र के हुन्थ्यो मलाई।, आदर्शले भने, ‘बाबालाई त्यसपछि जितपुर लिएर आउनुपर्ने भयो। ममीलाई अब के भन्ने त्यहाँरु त्यहाँबाटै लिएर जाँदा 'बित्नुभयो' भन्ने थाहा पाउनुहुन्छ भनेर- ममी यहाँ भेन्टिलेटर खाली छैन। नारायणी अस्पतालमा व्यवस्था भएको छ। हामी त्यहाँ जाउँ, बाबाको उपचार त्यहाँ हुन्छु भन्यौं। त्यतिखेर बाबाको शव प्याक गरिसकेको थियो। एम्बुलेन्समा हालिसकेको थियो। आफ्नो पति गुमाएको मेरी आमालाई 'तेरो बुढोको नारायणी अस्पतालमा उपचार हुन्छ' भनेर सोझै श्मसान घाटमा लिएर गएँ। कति पाप छ मेरो टाउकोमा ?’
आदर्शले आफ्ना पिताले आफूलाई निधन हुनुभन्दा अगाडि २ दिन अगाडि नचिनेको पनि उल्लेख गरेका छन् । ‘मेरो बाबाले वित्नुभन्दा दुई दिन अगाडि मलाई नचिन्नु भएको हो। आदर्श बेटा छोरा भनेर 'को हो यो ?' भन्नु भएको हो बाबाले। अन्तिम स्मरण नै मेरो त्यही हो। जति पापा पापा पापा भनेर बोलाए पनि बोल्नु हुन्थेन। अर्को कुरा- नेपालको ठूलै स्ट्यान्ड अप कमेडियन मान्दा रहेछन् मलाई मान्छेहरुले। राम्रै कमेडी गर्छ भन्छन्। तर, जीवनमा एउटा पनि सो बाबालाई लाइभ देखाउन सकिन। लास्टै नै ठूलो सपना थियो। प्रज्ञा प्रतिष्ठानमा एउटा सो गरेर बाबालाई फ्रन्ट रो मा राखेर एक घन्टा बाबाका बारेमा.... फेलियर भइयो।’ आदर्शले भनेका छन् ।
विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस