काठमाडौं - नेपाल सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

सिआइबीका अनुसार पक्राउ पर्नेमा ५५ वर्षीया पलिना श्रेष्ठ र ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन् । श्रेष्ठ झम्सीखेल बस्दै आएकी थिइन् भने उलाक धापासी निवासी हुन् । प्रहरीले उनीहरूलाई क्रमशः जमल र बखुन्डोलबाट पक्राउ गरेको जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो ।

तर, नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो ।

अनुमतिपत्र रद्द भएसँगै “अनुमति बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९” अनुसार स्मार्ट टेलिकमका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना तथा सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको थियो ।

तर, सरकारको स्वामित्वमा आइसकेको ती सम्पत्तिहरू गैरकानूनी रूपमा लिलामी गर्ने प्रयास भएको भन्दै प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

स्मार्ट टेलिकमका तत्कालिन सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरी सीआइबीले यसमा अनुसन्धान गरिरहेको छ । जोशीको बयानपछि थप व्यक्तिलाई सिआइबीले पक्राउ गर्न थालेको छ । 

तीन वर्ष अघि नै बन्द भएर सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको अर्बौं सम्पत्ति लिलामीको माध्यमबाट एनसेलले हत्याएको थियो । 

सो कम्पनीलाई नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा दिएको होइन । एलसी खोलिदिएको विषयलाई लिएर त्यसरी चार अर्ब ६० करोड रुपैयाँ बराबरको उपकरण लिलामी गरिएको थियो । जुन  एनसेलले मिलेमतोमा सकारेको थियो । 

यसमा सबै पक्षको संगठित मिलेमतो देखिएको स्रोत बताउँछ । जबकी इजाजत रद्द भएपछि त्यो सम्पत्ति स्वतः सरकारको हुनुपर्ने थियो । 

सीआइबी स्रोतका अनुसार सीआइबीले इन्भेष्टमेन्ट बैंक र एनसेलबाट यस सम्बन्धी सक्कल फाइल नै लगिसकेको छ । त्यसको अध्ययनपछि त्यसमा संलग्न व्यक्तिहरुमाथि छानबिन गर्ने तयारी छ ।