धनगढी - नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आजदेखि ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गर्दैछ ।

पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलालाई कांग्रेसको नयाँ नेतृत्वको पहिलो ठूलो संगठनात्मक शक्ति परीक्षणका रूपमा हेरिएको छ।

विशेष महाधिवेशनपछि पहिलोपटक निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा वर्तमान सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सांसद तथा नेताहरूबीच सामूहिक छलफल हुन लागेको हो ।

भेलामा सहभागी हुन सभापति गगनकुमार थापा आज धनगढी पुग्दैछन् भने उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे यसअघि नै धनगढी पुगिसकेका छन्।

हिजो आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए। उनका अनुसार भेलामा विशेषगरी प्रतिनिधिसभा निर्वाचनको परिणाम, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन तथा पार्टी संगठनको अवस्थाबारे विस्तृत समीक्षा गरिनेछ।

‘प्रदेशस्तरीय भेलामा प्रतिनिधिसभा निर्वाचनको परिणामको समीक्षा हुनेछ। स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल हुनेछ,’ सहमहामन्त्री स्नेहीले भने, ‘सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूले भेलालाई सम्बोधन गर्नुहुनेछ।’

भेलाका लागि कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सुदूरपश्चिम प्रदेश सभापतिसहित नौवटै जिल्लाका सभापतिलाई पत्र पठाएर सहभागिताका लागि आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश कार्यसमिति र कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्य, प्रदेश सरकारका प्रतिनिधि, प्रदेशसभा सदस्य, जिल्ला सभापति, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, स्थानीय तहका प्रमुख–उपप्रमुख, पालिकामा विजयी पार्टी सभापति, प्रतिनिधिसभा, क्षेत्रीय, प्रदेश तथा पालिका सभापतिहरू सहभागी हुनेछन्।

प्रत्येक सहभागीबाट २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। कार्यक्रम व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले लिएको छ भने स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गरिरहेको छ।

कैलालीका कार्यवाहक सभापति खेमराज डगौरा थारुले सबै निर्वाचन क्षेत्रका सभापतिलाई पत्राचार गरिसकेका छन्।भेलाको उद्घाटन सभापति थापाले गर्ने कार्यक्रम छ।

उद्घाटनपछि सुदूरपश्चिमका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ सुन्ने कार्यसूची तय गरिएको छ। त्यसपछि केन्द्रीय नेताहरूले धारणा राख्नेछन्।