पार्टी प्रवक्ताले आन्तरिक कुरा बंग्याएर मिडियालाई प्रेषित गरे : ईश्वर पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता ईश्वर पोखरेलले कार्यकर्ता, जनताको भावना र राष्ट्रको आवश्यकताले गरिएको ऐतिहासिक पार्टी एकताको डोरी चुँडिन दिन नहुने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हेर्ने गरी नयाँ जिम्मेवारीमा रहनुभएका उपप्रधानमन्त्री पोखरेलले ऐतिहासिक पार्टी एकतालाई बचाउन त्यसबेला गरिएका सहमतिबाट निर्देशित भएर पार्टी चल्नुपर्ने स्पष्ट पारे ।
उनले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विशेष कुराकानी गर्दै भने, ‘पार्टी एकताका बेला भएका सहमतिबाट निर्देशित भएर चल्नुपर्छ, त्यो भनेको दुई अध्यक्षबीचको सहमति नै हो । अन्य नेताहरूसँग परामर्श, कमिटीमा छलफल र त्यसले गरेको निर्णयका आधारमा अगाडि बढ्नुपर्छ ।’
नेता पोखरेलले सहमतिबाहेक समीकरणको बाटोबाट हिँडियो भने सहमति जुट्न नसक्ने बताए । उनले भने, ‘सहमतिका आधारबाट होइन, नयाँ समीकरण गरेर आफ्नो चाहना पूरा गर्ने कोशिश हुँदा समस्या देखा परेको हो ।’ २ अध्यक्षबीच भेटघाट, छलफल, सल्लाह भए पनि फेरि अन्यत्र अर्कै समीकरण बन्ने गरेकाले पटक–पटक पार्टीमा समस्या निम्त्याएको उनले बताए । नेकपाभित्रको वर्तमान समस्या अन्तरविरोध जस्तो देखिए पनि विभिन्न स्वार्थको टकराव मात्र भएको उनले स्पष्ट पारे ।
उनले भने, ‘प्रधानमन्त्री देश र जनताको पक्षमा कसरी काम गर्नुपर्छ भनेर सपना र योजनामा केन्द्रित हुनुहुन्छ । कोही पार्टी एकतापछि गुम्दै गएको आफ्नो हैसियत फेरि व्यवस्थित हुन्थ्यो कि भन्ने स्वार्थमा छन् । पार्टी र राज्यसत्ता प्रयोग गर्दाको सहजता अहिले नपाउँदाको असन्तुष्टि पनि देखिन्छ कतिपयमा । यस्तो हुनु दुखद हो ।’ उनले पार्टी एकताका बेला गरिएको सहमतिका आधारमा नबढ्दा पार्टीमा समस्या देखिएको चर्चा गरे ।
वर्तमान समस्या समाधानका लागि २ अध्यक्षबीचमै सहमति खोज्नुपर्नेमा जोड दिँदै उनले भने, ‘पूर्व समूहभित्र रहेका विगतका पक्षधरतामा आधारित समीकरण बनाउन थालिएकाले समस्या भएको हो । पूर्व माओवादी भित्रको समीकरणमा वा पूर्व एमालेभित्रको पक्षधरताका आधारमा खेल्न थालियो भने पार्टी एकता गर्दाको बेलाको सहमति र मार्गचित्र विपरीत हुन्छ ।’
उनले पार्टी एकता ठीक ढंगले नचल्ने हो भने सल्लाहले नै आफ्नो बाटो लागौं भन्ने स्वाभाविक प्रसङ्गलाई पार्टी प्रवक्ताले बंग्याएर मिडियालाई प्रेषित गरेको बताए । पार्टी स्थायी कमिटीले गरेको निर्णयहरूका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने सर्वसम्मत निर्णय सचिवालयमा भएको समेत उनले चर्चा गरे । निश्चित मापदण्ड र आधारमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरिरहँदा आफूलाई काममा सहजता हुने गरी गर्न पाउनुपर्ने उनले बताए ।
पार्टीभित्रका विभिन्न धार र पक्षधरको प्रतिनिधित्व गराउने हिसाबमा मन्त्रिमण्डल पुनर्गठन भयो भने त्यस्तो अवस्थामा देश र जनताप्रति प्रधानमन्त्री जवाफदेही बन्न अप्ठ्यारो अवस्था आउने उनले बताए । उनले पार्टीभित्र पक्षधर र समूहको भागबण्डा नमिल्दा मन्त्रिमण्डल पुनर्गठन हुन नसकेकोसमेत स्पष्ट पारे ।
संवैधानिक निकाय, राजदूत लगायत नियुक्तिमा पार्टी कमिटीले फलानो व्यक्ति भनेर सिफारिस गर्नु उचित नहुने उपप्रधानमन्त्री पोखरेलले बताए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस