काठमाडौं - केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

विहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा नेकपा एमालेका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने बताइएको छ ।  

सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएपछि ओली स्वतः पदमुक्त भएका थिए । ओलीले राखेको प्रस्तावमा ९३ मत मात्र खसेको थियो भने विपक्षमा १२४ मत खसेको थियो  । प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो  । त्यसपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन दिएको ३ दिनको समय आज राति ९ बजेसम्म तोकेकी थिइन् । 

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रयास गरेपनि बहुमत जुटाउन नसकेपछि अन्तिम समयमा आएर पछि हटेका थिए । एमालेका असन्तुष्ट पक्ष माधवकुमार नेपाल पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएपछि विपक्षीमा बहुमत नजुटेको हो । त्यसपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । 

ओलीले अबको एक महिनामा फेरि संसदमा विश्वासको मत लिनुपर्नेछ ।