देशकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको प्रधानमन्त्रीले आज उद्घाटन गर्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उद्घाटन गर्दैछन् ।
नेपाल विद्युत् प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ ।
हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००/२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेशनसमेत हो ।
सो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो सबस्टेशन नेपालकोे उपलब्ध संरचनामध्येको सबैभन्दा ठूलो हो ।
फेसबुक पेज Like गर्नुहोस