पहिलोपल्ट पहिरोको पूर्वानुमान
काठमाडौं - यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए । त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।
सरकार, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा मनसुनजन्य विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुटिरहेको छ तर समस्या कायमै छ ।पहिरोबाट लगातार जनधनको क्षति हुने क्रम रोकिएको छैन । नेपालमा पहिरोको पूर्वानुमानको आधिकारिक पूर्वसूचना प्रणाली नहुँदा जनधनको क्षति सुरुवातमै रोक्न नसकिएको हो ।
तर नेपालमा पहिरोको पूर्वसूचना प्रणाली लागू गर्न नसकिएको भने छैन । त्यसको प्रत्यक्ष उदाहरण हुन् पहिरोविज्ञ षनमुखेशचन्द्र अमात्य । नेपालमा सफल परीक्षण भएको पहिरो पूर्वानुमानको सिको हाल इन्डोनेसियाले गर्न खोजिरहेको अमात्य बताउँछन् । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण व्यवस्थापन विभागमा रहँदा उनले १२ वर्षसम्म पहिरोको अध्ययन र पूर्वानुमान गर्न भ्याए ।
सन् २००७ मा जापानको जाइका संस्थाले नेपालमा पहिरो पूर्वानुमानको नमुना परियोजना ल्यायो र परियोजनाको प्रमुखका रूपमा अमात्यले जिम्मेवारी पाए । चितवनको कविलास गाविसको नौ वडा केन्द्रित परियोजनाले त्यो पहाडी गाउँसँगै नारायणगढ–मुग्लिन सडकमा खस्ने पहिरोको पूर्वानुमान गर्ने लक्ष्य लिएको थियो ।
जापानको अनुभव नेपालको पहाडमा खन्याउँदै सुरु भएको परियोजनाअन्तर्गत प्रविधिजन्य सामग्री र परीक्षणको जिम्मा संस्थाकै थियो । पहिरो जाने प्रकृति थाहा पाउन माटो परीक्षण र वर्षाको मापन गर्नुपर्ने हुन्छ । कविलासको माटो परीक्षण गर्न नेपालमा प्रविधि नहुँदा जापानमा परीक्षण गरेको उनी स्मरण गर्छन् ।
अर्कोतर्फ त्यस्तो खालको माटोमा कति मिलिलिटरको पानी प¥यो भने माटो चल्छ र झर्छ भन्ने अर्को पूर्वमूल्याङ्कन भने नेपालमै गरियो । सामान्यतया निरन्तर पानी परेमा पहिरो जान्छ भन्ने मान्यता छ ।
यसरी गरिन्थ्यो पूर्वानुमान
कार्ययोजनालाई कम्प्युटरमा प्रोग्रामिङ गरेर सफ्टवेयर निर्माण गरिएको विज्ञ अमात्य बताउँछन् । त्यसलाई गाविस भवनमा कम्प्युटरसहित सफ्टवेयर स्थापना गरियो । दोस्रो सफ्टवेयर सडक विभागको कार्यालयमा स्थापना गरियो । गाविसको जलउत्पन्न प्रकोप न्यूनीकरण विभागले हेर्ने र सडकको उसैले हेर्नेगरी तय भयो । जसका लागि कविलास र नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा स्वचालित वर्षामापन स्टेसन स्थापना गरियो ।
वर्षात्को खतरालाई ६०, ८० र १४० मिलिमिटरको तीनवटा चरणमा विभाजित गरिएको थियो । जसमा पहिलो तहले थोरै सतर्क हुने, दोस्रोले बढ्दैछ र तेस्रोले खतराको घण्टी नै कम्प्युटरमा बजाउन थाल्छ, उनले थपे ।
तेस्रो अवस्थामा पहिरो जाने ठाउँमा मानिसलाई अन्यत्र सार्नका लागि पूर्वसूचना दिइन्छ । पहिल्यै कुन ठाउँमा मानिसलाई सुरक्षित राख्न सकिन्छ भनेर नक्साङ्कन गरिए अनुसार सार्नका लागि पहल गरिन्छ ।
सफल भएको परियोजनाको सही परिचालन नहुँदा नेपालमा सुरु भएको पहिरो पूर्वानुमानको काम त्यसै तुहियो । तथापि पहाडी भूभागको वर्चश्व रहेको नेपालमा पहिरो आउनुअघि पूर्वसूचना दिन सकिन्छ भन्ने प्रमाणित भएको अमात्य बताउँछन् । अहिले हामीसँग प्रविधि छ, पहाडी नक्साको अध्ययन गरेर पूर्वानुमान गर्न सकिन्छ, उनले भने
देशको कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतसम्मको असर पार्ने क्षति कम गर्न सरकारले पहिरो पूर्वसूचना प्रणाली सक्रिय गराउनुपर्नेमा उनीको जोड छ ।
गोरखापत्र दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस