कुशल भुर्तेलको शतकसँगै अमेरिकाविरुद्ध नेपालको जित
काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत टियु मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेलले शतक लिएसँगै अमेरिकाविरुद्ध नेपालले जित निकालेको छ ।
खेलमा अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।
ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
स्मितले शेहान जयसुरियासँग दोस्रोे विकेटका लागि शतकीय साझेदारी गरेका थिए । शेहान ५२ बलमा ५० रन बनाएर आउट भए । शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए ।
१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।
मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए । शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस